सुनसरी कारागारको पर्खाल नाघेर भागेका कैदी झापाको बिर्तामोडबाट पक्राउ

सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।

जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए । उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बिराटपोखर क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।