कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी (प्रहरी नायब महानिरीक्षक) ईश्वर कार्कीले प्रदेशमा प्रहरी सेवा जनउत्तरदायी, परिणाममुखी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । सोमबार विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आगामी कार्ययोजना सार्वजनिक गर्दै यो प्रतिबद्धता जनाएका हुन् ।
१५ दिनअघि मात्र प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका डीआईजी कार्कीले ‘बेस्ट पुलिसिङ’ अवधारणाअनुसार संगठनलाई जनमैत्री, पारदर्शी र उत्तरदायी बनाउने योजना सुनाए। उनले भने, ‘अबको प्रहरी सेवा नतिजामुखी हुनेछ । जनताले अनुभूति गर्ने गरी व्यवहारिक सुधार ल्याइन्छ। अबको परिवर्तन कागजमा मात्र होइन, व्यवहारमै देखिन्छ ।’उनले कार्यभार सम्हालेदेखि पछिल्लो १५ दिनभित्र फरार रहेका ४५ जना दोषी प्रतिवादी पक्राउ गरिएको जानकारी दिए । तीमध्ये कतिपय १६ वर्षसम्मको कैद सजाय भोग्नुपर्ने र २६ लाख रुपैयाँ बराबरको जरिवाना तिर्नुपर्ने अवस्थामा थिए। उनले प्रतिवादी पक्राउ अभियानलाई प्रहरीको ‘मिसन’को रूपमा अघि बढाइएको बताए ।१५ दिनमै १,२०० किलो गाँजा र ३०० ग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरिएको छ,’ उनले बताए । लागुऔषध नियन्त्रणमा प्रहरी मात्र होइन, विद्यालय, समुदाय र सामाजिक संस्थाको सहकार्य अपरिहार्य भएको कार्कीको भनाइ थियो ।