(नेपाल क्राईम) २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रमगरी दिवस मनाउन लागिएको हो । नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातान्त्रिक नयाँ युग प्रारम्भ भएको दिन ७ फागुनलाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रूपमा लिइन्छ ।प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए।
प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।