भारतको बहराईचमा बस्यो नेपाल भारत सुरक्षा अधिकारीको समन्वय बैठक

(नेपाल क्राईम)                                                            नेपाल-भारतका सीमा जोडिएका  जिल्लाहरुका सुरक्षा अधिकारीको समन्वय बैठक सीमावर्ती भारतीय शहर बहराइचमा बसेको छ।

बहराइचका डिस्ट्रिक्ट मजिस्ट्रेट (डीएम) को कार्यालयले आयोजना गरेको उक्त बैठकमा बहराइच र नेपालको बाँके र बर्दिया जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी रहेका थिए।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार यही माघ संक्रान्तिदेखि भारतमा हुन लागेको महाकुम्भ मेलाको तयारी र सुरक्षालगायत भारतको गणतन्त्र दिवस (२६ जनवरी) का अवसरमा हुने कार्यक्रमको सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै बैठकमा विभिन्न विषयमा छलफल भएको थियो।

बैठकमा सीमा क्षेत्रमा भइरहेका लागुऔषध ओसारपसार, मानव बेचबिखन, वन्यजन्तु र वन पैदावर चोरी तस्करीलगायत अन्य आपराधिक गतिविधि रोकथाम र निराकरणका उपायसम्बन्धमा समेत विस्तृत छलफल भएको थियो।

दुवै देशका अधिकारीले सीमा अपराध रोकथामका लागि समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन बैठकमा विशेष योजना प्रस्तुत गरेका थिए। मानव बेचबिखन र लागुऔषध तस्करीजस्ता अन्तरराष्ट्रिय अपराध रोक्न सीमा सुरक्षा अझ सुदृढ पार्ने सहमति उक्त बैठकमा गरिएको छ।

बैठकमा वन्यजन्तु र वन पैदावारको अवैध तस्करी रोक्न दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान बलियो बनाउनुका साथै सीमा क्षेत्रको सुरक्षालाई थप व्यवस्थित र प्रविधियुक्त बनाउने कुरामा विशेष जोड दिइएको थियो।