बालिकालाई बिहेको प्रलोभन देखाएर बलात्कार, भारतीय युवक पक्राउ

१४ वर्षीया बालिकालाई बिहेको झूटो प्रलोभन दिँदै भारतमा लगेर ६ महिनासम्म राखेर बलात्कार गरेको आरोपमा एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भई हाल वीरगन्ज महानगरपालिका-१५ भिस्वामा डेरा लिएर बस्दै आएका २५ वर्षीय मनिष पासवान रहेका छन्।पीडित बालिकाले प्रहरीमा दिएको उजुरी अनुसार भिस्वामा डेरा लिएर बस्दै आएका पासवानले गत मंसिर २५ गते ती बालिका बजार गर्न घरबाट निस्किएकी थिइन्।पासवानले बिहे गर्छु भन्ने प्रलोभन दिएर बालिकालाई लिएर भारत गएका थिए।

पीडित बालिकाका अभिभावकले छोरी सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए। ती बालिकालाई भारतमा ६ महिनासम्म आफूसँग राखेका पासवानले यही जेठ ११ गते वीरगन्जमा ल्याई छाडेर फरार भएका थिए।

त्यसपछि ती बालिकाले प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले पासवानलाई जेठ १२ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।